चितवन, साउन ०३ ।
पत्रकारलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका विद्युतका कर्मचारी धरौटिमा छुटेका छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले विद्युत प्राधिकरण भरतपुर शाखाका कार्यालय प्रमुख राजिव सिंह सहित ८ जनालाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटीमा छाडेका हुन् ।
पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा उनीहरु प्रहरीको नियन्त्रणमा थिए । असार ३१ गते मदिराले मत्त भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले पत्रकार कृष्ण आचार्यलाई परिसरभित्रै कुटपिट गरी लखेटेका थिए । आचार्यको हातमा चोट लागेको छ । शनिवार पत्रकार आचार्यले किटानी जाहेरी दिएको आधारमा प्रहरीले आईतबार मुद्दा दर्ता गरेको थियो । आचार्यले प्राधिकरणका कार्यालय प्रमुख राजिब सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल विरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।
अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ । १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहिताले उल्लेख छ । तर, जिल्ला प्रशासनले दवावका आधारमा धरौटीमा छाडेको टिप्पणी हुँदै आएकोछ ।

